कहाँ गए होलान् ‘सुनौलो फूलबारी’का ती फूलहरू
सञ्जय साह मित्र
अहिले मेरो हातमा आमसाई स्कुलको प्रस्तुति उल्लेख गरिएको वर्ष १, अङ्क १, पूर्णाङ्क १, असार–भदौ, २०६० को ‘सुनौलो फूलबारी’ बाल साहित्यिक त्रैमासिक रहेको छ । “यो वसन्त ऋतु अर्थात, मधुमास । हाँगाहाँगामा फूलहरू मुस्कुराइरहेका छन् । …” यसरी सम्पादकीय आरम्भ गरिएको छ पत्रिकाको । सम्पादकीयकै अन्तिम अनुच्छेदमा यसरी दृढता व्यक्त गरिएको छ –“राष्ट्र र राष्ट्रियताका सबालमा उठाइएका यी हातहरू जस्तोसुकै विषमजन्य परिस्थितिबाट विचलित हुने छैनन्, फूलको सुकोमलतामा अनवरत चल्ने छन्, चलिरहने छन् अनन्तसम्म ।…” ।
अहिले सम्झन्छु – सुनौलो बिहानी समूहको गठन र नवपल्लव साहित्यिक पत्रिकाको प्रकाशन आफैँमा एउटा हस्तक्षेप थियो । जीएस निकेतनमा म शिक्षक हुँदा नवपल्लवको प्रकाशन सुनौली बिहान समूहमार्फत गराएको थिएँ जसको सम्पादक म थिएँ । नारायणी अञ्चलको पहिलो बाल पत्रिकाको सम्पादकको हैसियतले भैरहवामा सम्पन्न बालसाहित्यको राष्ट्रिय सम्मेलनमा सहभागी भई कार्यपत्र प्रस्तुत गर्ने मौका पाएको थिएँ ।
‘सुनौलो फूलबारी’मा पहिलो रचना कविताको रूपमा रहेको – फगत ती सन्देशहरू । सर्जक हुन् – मदन शिवाकोटी ‘विद्रोही’ । आरामावि हेटौंडा ठेगाना दिइएको यी सर्जकले देशमा शान्तिको आवश्यकता रहेको र बुद्धका सन्देशहरू सार्थक हुने विश्वास लिएका छन् । सोल्डाइरिटी बोर्डिङ्ग स्कुलका क्षितिज रूपाखेतीको ‘घरको सम्झना’ प्रथम पृष्ठमै प्रकाशित लघुकविता हो । यसमा रूपाखेतीले घरभन्दा टाढा बसेको अवस्थामा आमाबुवा र घरको धेरै सम्झना आइरहेको भाव व्यक्त गरेका छन् ।
कविता प्रधान अङ्क रहेको छ यो । द्वितीय पृष्ठमा एक गजल र छ कविता छन् । नेत्रोदय मावि निजगढ १ का दिल दिवानाको ‘धर्तीमाता’ कवितामा धरतीको करुण चित्रण गरिएको छ । रूपेश चौहानको ‘नेपाल आमा’मा वीर सपूतहरूलाई जन्म दिने नेपाल आमाको महिमागान गरिएको छ । आरामावि हेटौंडा कक्षा ९ की छात्रा जमुना बन्जाडेको ‘जिन्दगी’मा धेरै यथार्थलाई आनुप्रासिकतासहित स्थान दिइएको छ । यसै कविताको यो अंशः
गलत मोडमा जब मोडिन्छ यो जिन्दगी
आफूदेखि आफैं पनि तोडिन्छ यो जिन्दगी ।
उज्ज्वल रूपाखेतीको ‘फूलबारी’ वर्णन सरल, सहज र सतही छ । प्रकाश भण्डारीले ‘जिन्दगीको हाल’ निराशापूर्ण रहेको वर्णन गरेका छन् । आरामावि हेटौंडाबाट दुर्गा उप्रेतीले ‘पैसा’ को पछि कुद्नेको बेचैनीलाई चिरफार गर्ने सार्थक प्रयास भएको छ । सिन्धुपाल्चोकका शुक्रप्रसाद आचार्यले ‘गजल’मा मूलतः प्रकृतिको गीत गाउँदै प्रकृतिको संरक्षण गर्नुपर्ने सन्देश दिएका छन् ।
‘नारीको गहना सहनशीलता’ शीर्षकमा सुबिना सुवेदीले पुरुषबाट हेपिएर बस्नु पर्ने समाजमा नारीको मुख्य गहना सहनशीलता हुने गरेको भाव वर्णित छ । कवितामा आक्रोश र व्यङ्ग्यको भाव पनि पाइन्छ । आरामावि हेटौंडाका सुजन श्रेष्ठले ‘यस्तै छ नेपाल’मा भावुकता, प्राकृतिक सुन्दरता, वर्गीय विभेद र शान्तिको चाहना देखेका छन् । सर्लाही, कर्मैया ५ स्थित श्री ५ महेन्द्र जनता माविका जयराम काफ्लेले ‘ठूलो मान्छे बन्नु छ’ शीर्षकमा पढेर ठूलो मान्छे बन्ने सपना सजाएका छन् । रिडी उच्च माध्यमिक विद्यालयकी जुना पन्थीले ‘हाम्रा शिक्षक’मा शिक्षकको महिमागान गर्दै शिक्षकको अपहेलना गर्न नहुने सुझाव दिएकी छन् । यस्तै नेत्रोदय मावि बाराका सुदर्शन तिमल्सिनाले ‘नेपाली’ शीर्षकमा लयात्मक रूपमा नेपालको सुन्दरताको मनमोहक वर्णन गरेका छन् ।

अन्तिम पृष्ठमा पहिलो रचनाको रूपमा विजय कार्कीको ‘को हुँ म ?’ शीर्षकमा निराशाको भाव व्यक्त गरिएको छ । आमसाई स्कुलकी श्रुति झाले ‘के भइरहेछ ?’ शीर्षकमा इतिहासको नेपालको गौरवगाथा र तत्कालीन नेपालको अवस्थामा तुलना गर्दै खिन्नताबोध गरिएको भाव छ । असन्तोष कविताको मूल मर्म हो । गौरीशंकर उच्च मावि निजगढ, बाराका रमेश शर्माले ‘नारी’ शीर्षकमा देशको सम्मान र गौरव नारीको अवस्थाको वर्णन गर्दै महान् मानेका छन् । ‘त्यो म नै हुँ’ शीर्षकमा सज्जल रूपाखेतीले सज्जन बन्नुपर्ने सन्देश दिएका छन् । भण्डारा ८ डढुवा चितवनकी ललिता आचार्यले ‘रात’ शीर्षकमा प्रकृतिले सुन्दर तत्कालीन नेपालको अवस्था हेरेर निराश भई मन रुने गरेको अवस्था दर्शाएकी छन् ।
सुनौलो फुलबारी समूहका पदाधिकारी तथा सदस्यहरूको नामावली पनि दिइएको छ । अध्यक्ष सरोज गौतम, उपाध्यक्ष सन्दीप लामा, संयोजक तेजिलाल शाह “श्याम”, सचिव अविनाश झा, सहसचिव प्रकाश भण्डारी, कोषाध्यक्ष सुजिता सुवेदी तथा सदस्यहरुमा प्रविन पहाडी, मेघराज गौतम, जेनेश ढुङ्गाना र सविता सुवेदी सुनौलो फूलबारीमा रहेका छन् । प्रकाशक उल्लेख नगरिएको र आमसाई स्कुलको प्रस्तुति भनिएको पत्रिकामा यस सुनौलो फूलबारी समूहले व्यवस्थापन गरेको हुनुपर्छ ।
पत्रिकाको संरक्षकमा केपी अधिकारी र सन्दीप लामा, सल्लाहकारमा प्रभात कुमार, अतिथि सल्लाहकारमा अभियान कार्की, प्रधान सम्पादकमा रूपेश चौहान, सम्पादकमा उज्जवल रूपाखेती र श्रुति झा, सहसम्पादकमा विनिता पौडेल र अस्मिता बराल, अतिथि सम्पादकमा सुधा शर्मा र विजय कार्की, कार्यकारी सम्पादकमा सोविता दुवाडी रहेका छन् । पत्रिकामा पत्राचारको लागि आमसाई बोर्डिङ स्कुल कर्राको ठेगाना दिइएको छ ।
मकवानपुरमा यस्ता अनेक पत्रिका प्रकाशित भएका छन् । फापरबारीबाट प्रकाशित भएको जूनकिरी हवाई साहित्यिक पत्रिकाका केही अङ्क मसित रहेका छन् । कुनै दिन ती पत्रिकाको फोटो पनि सार्वजनिक गरुँला ।
सुनौलो फूलबारीले पहिलो अङ्कमा लिएको सङ्कल्प के भयो होला ? मैले हेटौँडाबाट गरुडा आएको दुई दशकभन्दा बढीको अवधिमा यस पत्रिकाबारे केही सुनेको छैन । कतै यसले आफूलाई इतिहास बनाइसक्यो कि ?
सुनौलो फूलबारीमा सम्भावना भएका धेरै फूलहरू थिए भन्ने कुरा पहिलो अङ्कले साबित गरेको छ । कविताको कला र शिल्प तथा बुनोटले मात्र नभई भावको गहिराइले पनि यस कुराको पुष्टि गर्दछ । सुनौलो बिहानीले पहिलो अङ्कमा कम्तीमा पाँच जिल्लाको रचना प्रकाशित देखिन्छ । प्रवेशाङ्क र बालरचनाको प्रधानताको सुन्दर सन्तुलन रहेको सुनौलो फूलबारीका तत्कालीन सुन्दर फूलहरूको अवस्था अहिले कस्तो होला ? साहित्यिक अवस्था राम्रो होला भन्ने कल्पना गर्न सकिन्छ ।
मकवानपुरे साहित्यको विकासमा योगदान दिने यस्ता पत्रिकाहरुबारे एकातिर अध्ययन हुनु जरुरी छ भने अर्कोतिर यस्ता पत्रिकाको योगदानको मूल्याङ्कन पनि गर्नु अत्यावश्यक छ ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ३६)



