नयाँ बानेश्वर प्रवेश गरेका जेन–जी युवाहरू, भ्रष्टाचारविरुद्ध सडकमा आक्रोश
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका जेन–जी युवाहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरसम्म पुगेको हो।
हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूको फोटोसहित विरोध प्रदर्शन गरेका छन्।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गर्न युवाहरू सडकमा निस्केका हुन्। माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीले “भ्रष्टाचारी देश छोड” जस्ता नारा लगाएका थिए।
सडक प्रदर्शनका कारण प्रमुख मार्गहरूमा सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको प्रदर्शनलाई विभिन्न राजनीतिक दल, सामाजिक समूह र व्यक्तिहरूले समर्थन गरेका छन्।
