प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या : बागमतीमा नव नियुक्त मन्त्रीहरुको सपथ स्थगित

तु खबर संवाददाता
२०८२ श्रावण १५, बिहीबार ११:१८

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण अनिश्चित कालका लागि स्थगित भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि आज बिहीबार दिउँसोका लागि तय गरिएको सपथ ग्रहण कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको हो ।

प्रदेश प्रमुख कार्यालय बागमतीका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी गरिएको सूचना अनुसार, नव नियुक्त मन्त्रीहरुको आजका लागि तय भएको सपथ ग्रहण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

नेपाली काँग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा पराजीत भएपछि बागमतीमा शक्ति संघर्ष जारी छ । लामा विरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउने भएपछि उनका क्याबिनेटका ५ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको मन्त्रीहरुमा लामाले ३ जनालाई मन्त्रालयसमेत विभाजन गरेर हिजो बुधबारका लागि सपथ राखेका थिए । नेकपा एमालेका तर्फबाट सपथ नगराउन भनिएपछि बुधबारका लागि तय भएको सपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो भने सोही सपथ आज बिहीबार दिउँसोका लागि तय गरिएको थियो । यसरी तय भएको सपथ ग्रहण पनि स्थगित भएको हो ।

मुख्यमन्त्री लामाले दलको नेतामा पराजीत हुँदैमा मुख्यमन्त्रीबाट राजीनामा गर्न नपर्ने दावी गर्दै मन्त्री परिषद् विस्तार गर्न खोजेका थिए । तीन जनालाई मन्त्री नियुक्त गरी सपथ खुलाउने तयारी भएको थियो । त्यसका लागि प्रदेश प्रमुखको कार्यालयले सूचना समेत जारी गरेको थियो । तर, त्यसरी जारी सूचनालाई स्थगित गरिएको छ ।

दलको नेतामा निर्वाचित भएपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन चौतर्फी दबाब परिरहेको छ । तर, लामाले राजीनामा नदिने अडान राख्दै आइरहेका छन् ।