किन गरिन् फैसलामा न्यायाधीश सपना मल्ल प्रधानले आत्मालोचना

तु खबर संवाददाता
२०८२ असार १९, बिहीबार ०९:५५

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले ५२ संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी रिटमा आत्मआलोचना गरेकी छिन् ।

रिट निवेदकले माग गरेको परमादेश सम्बन्धमा फरक राय लेखेकी मल्ले सो रायको ५ औँ प्रकरणमा ‘आफ्नै सतर्कताको निमित्त यस्तो प्रवृत्ति दोहोरिन दिन हुँदैन’ भनी यो आत्मलोचना गरेकी छु भनेकी छिन् ।

‘यति गम्भीर प्रकृतिको मुद्धामा जहाँ सम्पूर्ण संवैधानिक आयोगको समग्र नियुक्तिको वैधानिकतामा प्रश्न उठाइएको छ । निर्णय समयमा गरेको भए वान्छित अवान्छित परिणाम जे आएता पनि अनिश्चित प्रकृया र परिणाम लामो समयसम्म रहँदैन थियो । न्याय गर्नु भनेको समयमा निर्णय गर्नु पनि हो । प्राथमिकताका साथ समयमा निर्णय गर्नुपर्ने गम्भीर र महत्वपूर्ण विषयमा साढे चार वर्ष लामो समय निर्णय नगरी राख्दा न त संवैधानिक निकाय जस्तो संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने निकाय खुलेर काम गर्न सक्छ, न त अदालत आफ्नो दायित्व प्रति जिम्मेवार भएको देखिन्छ । न्यायको याचिकाहरुलाई आसाको ज्योति जगाउन अनुचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ,– मल्लले आफ्नो फरक रायमा भनेकी छिन् ।

न्यायाधीश मल्लले गम्भीर प्रकृतिको मुद्धामा समयमा निर्णय हुन नसक्नुप्रति असहमति जनाएकी छिन् । मल्लको फैसलाले अदालतले निर्णय प्रकृयामा ढिलाइ गरेको कुरालाई गम्भीरताका साथ उठाएको छ । प्राथमिकताका साथ समयमा निर्णय गर्नुपर्ने विषय भनी उनले स्वीकार गरेकी छिन् । न्याय गर्नु भनेको समयमा निर्णय गर्नु पनि हो, मल्लको धारणा छ ।

यस अघि गएराति सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ । न्यायाधीशहरुबीच रायबाझी भएपनि बहुमत न्यायाधीशहरुले रिट निवेदनहरु खारेज हुने फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र डा. नहकुल सुवेदी अल्पमतमा परेका छन् ।