विश्व योग दिवस : डिजिटल युगमा योग आत्मशान्तिको मार्ग

रमेश फुल्लेल
२०८२ असार ७, शनिबार ११:१४

विश्व योग दिवस प्रत्येक वर्ष जुन २१ मा मनाइन्छ, जसको सुरुआत सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव राखेपछि भएको हो। सो प्रस्ताव स्वीकृत भएपछि २०१५ देखि नै आधिकारिक रूपमा विश्व योग दिवस जुन २१ मा मनाइँदै आएको छ। “योग” भन्ने संस्कृत शब्दको सामान्य अर्थ “जोड” वा “सम्बन्ध” हो, जसले शरीर, मन र आत्माबीचको समन्वयलाई जनाउँछ।

धार्मिक विश्वास अनुसार योगको उत्पत्ति भगवान शिवबाट भएको मानिन्छ, जसलाई आदि  योगीका रूपमा मानिन्छ। योग शास्त्र तथा दर्शनमा महर्षि पतञ्जलीद्वारा प्रतिपादित ‘अष्टाङ्ग योग’लाई आधार मानिन्छ, जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ अङ्ग समावेश छन्। महर्षि पतञ्जलीका अनुसार “योगश्चित्तवृत्तिनिरोधः” अर्थात् चित्तको वृत्तिलाई रोक्नु नै योग हो। यसको अर्थ हाम्रो मनमा चल्ने विचार, भावना र संवेदनाहरूलाई स्थिर बनाउनु हो, जसबाट मानसिक शान्ति, आत्मानुशासन र आध्यात्मिक उन्नति प्राप्त हुन्छ।

योग केवल शारीरिक व्यायाम होइन, यो जीवन पद्धति हो जसले व्यक्ति भित्रको चेतनालाई जागृत गर्छ। भागवद्गीतामा तीन प्रकारका योग– कर्मयोग, ज्ञानयोग र भक्तियोग–को वर्णन गरिएको छ। कर्मयोगले समर्पित भावनाले गरिने कर्मलाई, ज्ञानयोगले आत्मबोधमार्फत प्राप्त हुने मुक्ति मार्गलाई, र भक्तियोगले भक्ति, समर्पण र श्रद्धाद्वारा भगवानसँगको मिलनलाई प्राथमिकता दिएको पाइन्छ। यी तीनै प्रकारका योगहरूले मनुष्यलाई आत्मा र परमात्माको एकाकारतर्फ उन्मुख गराउँछन्।

समसामयिक विश्वमा योगले आध्यात्मिक साधनाभन्दा पनि तनाव व्यवस्थापन, जीवनशैली सुधार, मानसिक स्वास्थ्य प्रवर्धन, रोग निवारण र आत्मसन्तुलनको साधनको रूपमा व्यापक स्थान पाएको छ। संयुक्त राष्ट्र, विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले पनि योगलाई जीवनशैलीसँग जोडिएको समग्र स्वास्थ्यको अनिवार्य अङ्गका रूपमा मान्यता दिइसकेका छन्।

भगवान शिवबाट प्रसारित ८४ योग आसनहरू आज योग अभ्यासको आधार बनेका छन्, जसले शारीरिक लचकता, मांसपेशी मजबुती, सासप्रश्वास नियन्त्रण तथा ध्यान केन्द्रित गर्ने क्षमतामा अभूतपूर्व सुधार ल्याउँछ। समसामयिक जीवनशैलीका अनेक चुनौती– तनाव, मानसिक विचलन, व्याधि, निद्राको समस्या आदिका समाधानका लागि योग एक सरल, स्वाभाविक र प्रभावकारी उपायका रूपमा स्थापित भइसकेको छ।

आजको डिजिटल युगले जीवनलाई सहज र गतिशील बनाएको भए तापनि, यसले मानिसको मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा गहिरो प्रभाव पारेको छ। प्रविधिमा निर्भरता, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अनियमित जीवनशैली र प्रतिस्पर्धात्मक वातावरणका कारण मानिसहरूमा तनाव, अनिन्द्रा, एक्लोपन, चिडचिडोपन, उच्च रक्तचाप, मोटोपना र मानसिक विचलन तीव्र रूपमा बढ्दो छ। विशेषतः युवापुस्ता बढी प्रभावित छन्, जसले शारीरिक गतिविधिको कमी, लामो समय मोबाइल वा कम्प्युटरको स्क्रिनमा बिताउने प्रवृत्तिका कारण आत्मसन्तुलन गुमाउँदै गएका छन्।

यस्ता समस्याबाट मुक्ति पाउन योग आजको युगको अपरिहार्य आवश्यकता बनेको छ। योगले तन, मन र आत्माको समन्वय गर्दै सन्तुलित जीवनशैली विकास गर्न सहयोग पुर्‍याउँछ। श्वासप्रश्वास नियन्त्रण (प्राणायाम), शारीरिक आसन र ध्यान अभ्यासले शरीरलाई लचिलो, मनलाई शान्त र चित्तलाई एकाग्र बनाउँछ। नियमित योग अभ्यासले हर्मोन सन्तुलन, रोगप्रतिरोधात्मक क्षमता, ध्यान केन्द्रित गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि गर्छ।

डिजिटल तनावका बीच योगले आन्तरिक शान्तिको अनुभव गराउँदै मानिसलाई वर्तमान क्षणमा केन्द्रित हुन सिकाउँछ। यो केवल व्यायाम नभई एक जीवन पद्धति हो, जसले मानिसलाई स्वयंप्रति सजग बनाउने मात्र होइन, सकारात्मक सोच, सहिष्णुता र आत्मनियन्त्रणको अभ्यास गराउँछ। त्यसैले डिजिटल युगको व्यस्त र जटिल जीवनशैलीमा योग आत्मिक सन्तुलन र समग्र स्वास्थ्यका लागि अत्यन्त प्रभावकारी, सरल र वैज्ञानिक उपाय हो। समाजमा मानसिक स्वास्थ्य संकट बढ्दो रहेको यस सन्दर्भमा योग एउटा दिगो, प्राकृतिक र आत्मनिर्भर समाधान हो।