बजेटको मुखमा बजारमा हरियाली,कारोबार समेत बढ्यो

तु खबर संवाददाता
२०८३ जेष्ठ ११, सोमबार १६:१८

काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ ।

नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई लिएर शेयर लगानीकर्ताले ठूलो अपेक्षा राखेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि लगानीकर्तालाई बजेटसम्म धैर्य गर्न आग्रह गर्दै आएका छन् । यसले बजारमा नीति सुधार र सहुलियतका सम्भावनाप्रति सकारात्मक सन्देश दिएको देखिन्छ ।

यसैबीच केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा केही समय अनिश्चितता देखिएको थियो । सो घटनाले लगानीकर्ताको मनोबलमा असर पार्दै जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको बजार विश्लेषकहरू बताउँछन् । तर पछिल्ला दिनमा सो दबाब क्रमशः कम हुँदै गएको संकेत देखिन थालेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधिमा सुधारको संकेतले आगामी दिनमा बजारलाई थप समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.८५ अकंले बढेर २७८६.३५ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ वटा उपसूचकमा सुधार देखिएको छ भने म्युुचुअल फण्ड समूहको शेयर मूल्य मात्रै ओरालो लागेको हो ।

सोमबार २३५ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने २८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।