बागमती प्रदेशसभा बैठक सुरु, नेताहरुको शुभकामनापछि स्थगित हुने

हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार ढिलो गरी सुरु भएको छ । निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।
आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन नसकेपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको छ । यस बीचमा बैठक बस्ने समय पनि सारिएको थियो ।
विपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादीले सांसदका योजनामा बजेट थप्ने गत कार्तिकमै भएको सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिँदै आएका थिए ।
सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले दिएको जानकारी अनुसार, नेताहरुले शुभकामना दिएपछि बैठक स्थगित हुने गरी तय भएको छ ।