अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा आजबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लि.ले संयुक्त रुपमा महायज्ञको आयोजना गरेको हो ।
महायज्ञको उद्घाटन कार्यक्रम बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता एवम् पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्य (क्याम्पस प्रमुख) प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा भएको हो ।
यसअघि महायज्ञको उद्घाटन कार्यक्रम मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता हुने भनिएको थियो । तर, कारणवंश सांसद् सिंह उपस्थित नहुने भएपछि प्रदेश सांसद् पुलामीको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले जानकारी दिए ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पुलामीले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्न आयोजित महायज्ञको सफलताको शुभकामना दिए । उनले धार्मिक पर्यटनको संरक्षण र विकासमा काम गरिने बताए ।
धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सद्भाव र भाईचाराको सम्बन्ध बढाउन ठूलो सहयोग पुर्याइरहेको उनको भनाई छ । उनले सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न आम नेपाली नागरिकहरुलाई आग्रह गरे ।

महायज्ञको उद्घाट समारोह अघि अङ्गारेश्वर मन्दिर परिसरमा कलश यात्रा गरिएको थियो । महायज्ञ आगामी फागुन ७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको मूल समारोह समितिका संयोजक भण्डारीले बताए । महायज्ञमा पण्डित श्री बद्रीविशाल शास्ती र पण्डित श्री दिनेश काफ्ले शास्त्री, उपवाचक अनमोल धितालले कथा वाचन गर्नेछन् ।

सो महायज्ञबाट संकलन भएको रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
यस्तै, महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सहसंयोजक तथा प्रसाद व्यवस्थापनमा मिनप्रसाद दहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पुजा समितिमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमाः माया राना, सरसफाइ समितिमा ॐ प्रसाद अधिकारी र सामान खरिद समितिमा शमशेर पुडासैनीलाई संयोजक तोकिएको छ ।

महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहनेसमेत जनाइएको छ ।
