मदिरा सेवन गरेर चक्कु प्रहार गर्ने हेटौंडाका कोइराला पक्राउ
मकवानपुर । हेटौंडामा मदिरा सेवन गरेर चक्कु प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११, शान्ति टोल बस्ने अमित कोइराला रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
मदिरा सेवन गरेर आफ्नै आमासहित चार जनालाई चक्कु प्रहार गरेका ३० वर्षीय उनलाई आइतबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।
उनका अनुसार, अमितले चक्कु प्रहार गर्दा आफ्नै आमा र छिमेकीसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा निजको आमा वर्ष ५० की शान्ता कोइराला, छिमेकी वर्ष १६ की सबिना पौडेल, वर्ष ५२ को कृष्ण पौडेल र वर्ष ४८ को हरी बिडारी रहेका छन् ।
तीमध्ये शान्ताको हेटौंडा अस्पतालमा उपचारपश्चात डिस्र्चाज भइसकेको छ भने अन्यको हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ । घाइते सबैको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
पक्राउ परेका अमितमाथि प्रहरीले आवश्यक कानूनी कारबाही अगाडि बढाइएको छ ।
