एनपिएलको फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ पुष ८, सोमबार १४:२१
file-photo

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको क्रममा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेअरुमा डोटीको आदर्श गाउँपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दिपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झडप भएको थियो ।

सो क्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।