हेटौंडामा सवारी दुर्घटना हुँदा ५ जना घाइते

तु खबर संवाददाता
२०८१ पुष ७, आईतवार ०८:५४

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शनिबार हेटौंडा–५, माछा प्लान्टमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाईकल र हेटांैडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नं. को स्कुटर एकापसमा ठोक्किँदा सोही समयमा चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नं. को ट्रकको (ट्रेलर खालको) बम्परको भाग मुनी मोटरसाइकल छिरेर दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा स्कुटर चालक हेटौंडा–१७ हटिया बस्ने वर्ष ३४ को रोहित तामाङ, उनको श्रीमती वर्ष २८ की रमिला तामाङ, उनका छोरा वर्ष ८ को रोजन तामाङ, मोटरसाइकल चालक हेटौंडा–३, बसामाडी बस्ने वर्ष ३५ को गोपी तामाङ र मोटरसाइकलमा पछाडी सवार हेटौंडा–१९, नेवारपानी बस्ने वर्ष ३० को विष्णु प्रजा रहेका छन् ।

दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई तत्का उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो । तीमध्ये स्कुटर चालक रोहितको अवस्थामा गम्भीर रहेको र उनलाई हिजै बेलुका उपचारको लागि चितवनको भरतपुरस्थित सिएमसि नयाँ मेडिकल कलेजमा रिफर गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक हेटौंडा–१३, पदमपोखरीका ३० वर्षीय सुकराम घलानलाई प्रहरीले नियनत्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।