मकवानपुरमा बिहानै ट्रक दुर्घटना, बाबु–छोरा घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, तिनतल्लेस्थित मदन भण्डारी लोकमार्गमा आज बिहानै ट्रक दुर्घटना भएको छ ।
बिहान ७ बजेको समयमा हेटौंडाबाट फापरबारीतर्फ सिमेन्ट लोड लिई जाँदै गरेको ना ५ ख ४६५६ नम्वरको ट्रक सडकको बायाँ साईडमा आफै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार उक्त दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक मकवानपुरको हेटौंडा–१४, मयुरधाप बस्ने वर्ष ४० को रबि थापा मगर र १३ वर्षीय रिहान थापा मगर रहेका छन् ।
घाइतेमध्ये रबिको अवस्थामा गम्भीर छ भने रिहानको अवस्था सामान्य रहेको छ । उनीहरु दुबै जना बाबु–छोरा रहेको बुझिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
