स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’

तु खबर संवाददाता
२०८१ मंसिर २४, सोमबार १६:५७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवाको स्थापना गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि उक्त हेल्लो हेल्थको स्थापना गरिएको बताए ।

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत गुनासो पठाउन सक्नेछन् ।

टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् भने भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत् पठाउन सकिने जनाइएको छ ।

यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिने सो मन्त्रालयले जनाएको छ ।