मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८१ मंसिर २२, शनिबार ०८:०८

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी २७ गते बिहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको हो ।

खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको अध्यक्ष स्याङ्तानले बताए । प्रतियोगितामा ८ देखी १० वटा समूहलाई सहभागी गराउने तयारी गरेको अध्यक्ष अध्यक्ष स्याङ्तानले बताए ।

उनका अनुसार, समूह दर्ता शुल्क दुई हजार लाग्ने छ भने २५ गते सम्म वडा नम्बर ५ धादिङमा अवस्थित नवजागृत क्लबको कार्यालयमा गएर समूह दर्ता गराउनुसक्नेछ ।

नवजागृत क्लबको समन्वयमा हुने प्रतियोगिता धादिङ मिनिरंगशालामा हुनेछ । प्रतियोगितामा विजेताले ८० हजार र उपविजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रम संयोजक रामराजा महर्जनले प्रतियोगिता लिग चरणमा खेलाइनुका साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिने बताए ।

उक्त प्रतियोगिताको समापन पुष २ गते हुने आयोजकले जनाएको छ ।