मकवानपुरका बोम्जनलाई गोली प्रहार गर्ने एक जना पक्राउ
मकवानपुर । मकवानपुरका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बागमती गाउँपालिका वडा नं.१ निवासी बोम्जनमाथि गोली प्रहारगर्ने बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत कात्तिक २५ गते आइतबार दिउँसो साढे २ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ मा तीन जनाको अज्ञात समूहले बाृम्जनमाथि गोली प्रहार गरेको थियो । अनुसन्धानको क्रममा ठाकुरलाई पक्राउ गरिएको हो ।
बोम्जन मकवानपुरको बकैया गाउँपालिका वडा नं ३, हातिसुडेस्थित श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी भाइसँगै सिन्धुलीतर्फ जाँदै गर्दा गोली प्रहार भएको जनाइएको छ ।
गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बोम्जन शिक्षक पनि हुन् ।
पक्राउ परेका ठाकुरमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
