पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका ३ अगाहखोलामा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक राना ९३५१ नम्बरको ट्रक चालकको बुझिइएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने २१ वर्षीय सन्जित खवास थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा ना १ क ७१२१ नम्बरको ट्रक चालक स्याङ्जाको वालिङ नगरपालिका ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल रहेका छन् ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
