यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा हुने

२०८१ कार्तिक २, शुक्रबार ०९:५७

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जनाएको छ ।
त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ । साथै हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।