मकवानपुरकी चन्द्रमायासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई घरबाट नै सो परिमाणको गाँजासहित पक्राउ गरिएको हो ।
यस्तै, धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ जोरपाटीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ६० मिलिग्रामसहित बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय बिनोद राई रहेका छन् ।
प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो । ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
