डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो
डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव भेटिएको हो । खोज तथा उद्दारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै भेटिएको हो ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाएको जनाइएको छ ।
