डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
धनगढी । डडेल्धुरामा गएराति बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–७ को खसरेखानमा पवनदुत यातायातको ना ८ ख १०७८ नम्बर बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर बिरामी भएका उनीहरुलाई तत्काल उद्धार गरी उपचारको लागि डडेल्धुरा अस्पताल पुगाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
उक्त बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । सो दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको बुझिइएको छ ।
