बाढी–पहिरोले देशभरका १५० विद्यालयमा क्षति
काठमाडौं । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी–पहिरोले देशभरका १५० विद्यालयमा क्षति पुर्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको क्षतिको विवरण अनुसार हालसम्म १५० विद्यालयमा क्षति पुगेको हो ।
तीमध्ये कतिपय पूर्ण रूपमा भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताए ।
मन्त्रालयमा प्राप्त तथ्याङ्क अनुसार, हालसम्म २९ जिल्लाका विद्यालयमा क्षति पुगेको छ । संकलन विवरण अनुसार, बाढी र पहिरोले विद्यालयका २४ वटा भवन पूर्ण रूपमा क्षति भएको छ भने २० जना विद्यार्थीको मृत्यु भएको छ ।
क्षतिग्रस्त विद्यालयको पुनर्स्थापनाका लागि शिक्षा मन्त्रालयले प्रत्येक प्रदेशमा २/२ करोडका दरले अनुदान पठाइएको छ । उक्त अनुदान शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत् मन्त्रालयले बजेट पठाएको हो ।
