पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’ सार्वजनिक
बेल्जियम । पत्रकार मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’ को सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका गौतमले लेखेका उक्त पुस्तक आइतबार बेल्जियममा सार्वजनिक गरिएको हो ।
उक्त पुस्तक अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
सो क्रममा बोल्दै राजदूत भण्डारीले नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई विषय लिपिबद्ध गरी पुस्तक लेखेकोमा पत्रकार गौतमलाई धन्यवाद दिए । उनले उक्त पुस्तकमार्फत् विदेशमा बस्ने नेपालीलाई सकारात्मक उर्जा मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै, लेखक गौतमले प्रवासका फूलहरु बारे बोल्दै मुलुक बाहिर रहेका नेपालीहरुको जीवन्त कथा लेखिएको बताए । उनले आफुले करिब डेढ वर्षको अन्तरालमा उक्त पुस्तक तयार गरेको बताए । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति ,परिवारिक अवस्था, वैदेशिक संघर्षलगायतका वास्तविक कथा समेटिएको पनि उनले बताए ।
कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाई, अनेसास बेल्जियमका महासचिव गोपाल दाहाल, अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितलगायतले पुस्तकबारे मन्तव्य राखेका थिए ।
उक्त पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृव आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देवकोटाको श्रुति लेखन रहेको छ ।
यस्तै, पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अविकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको उल्लेख छ ।
