सिस्नेरी पहिरोः मृतक परिवारलाई राहत उपलब्ध

तु खबर संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १७:०७

मकवानपुर । एक साताअघि आएको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर मृत्यु भएका मकवानपुरका खेलाडीको परिवालाई राहत उपलब्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीस्थित टेकरमा पहिरोमा पुरिएर मृत्यु भएका मकवानपुरका खेलाडीका परिवारलाई राहत उपलब्ध भएको हो ।

नेपाल सरकारको तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) एवम् जिल्ला विपद् व्यवस्थपान समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालले मृतक खेलाडीको घरमै पुगेर राहत उपलब्ध गराएका हुन् ।

प्रजिअ चिलुवालले हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलान र मकवानपुरगढी गाउँपालिका–४ का साइमन योञ्जनका परिवारलाई राहत हस्तान्तरण गरेका हुन् ।

प्रजिअ चिलुवालले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई जनही २–२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै, उक्त पहिरोमा परी मृत्यु भएका सिस्नेरीका दिवस बानियाँको परिवारलाई पनि आजै शुक्रबार सिस्नेरीस्थित घरमा पुगेर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलुवालले बताए ।

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुने अन्य खेलाडीहरुमा बाराको निजगढका बिकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य रहेका छन् । मृतक ६ जना नै इन्द्रसरोवर–३, टेकरस्थित वत्सलादेवी माविको एन्फा एकेडेमीका विद्यार्थी हुन् ।