हेटौंडा–११ लाई बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ आश्विन १७, बिहीबार १८:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।

वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही यही असोज १९ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–११ का वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् ।

स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९९ प्रतिशत, १ वटा सूचक ९७, १ वटा ९५, १ वटा ९०, १ वटा ८१ र १ वटा ८० प्रतिशतसम्म नतिजा हासिल गरेको बताइन् ।

उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष दाहालले बताइन् ।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा क्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ४, ७, ८, १०, १७, १५ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ ।