त्रिवि र पूर्वाञ्चलको १३ र १४ गते हुने परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
असोज १० देखि संचालनमा रहेको स्नातक तह दोस्रो वर्षको आज असोज १३ गते हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।
त्रिविका अनुसार, मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित गरिएको हो ।
आंशिक तर्फको बि.ए., बि.एड. बि.बि.एस. र बि.एस्सीको आज (आइतबार) हुने परीक्षा देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको जनाइएको छ ।
उक्त परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले आज असोज १३ र भोलि असोज १४ गते सोमबारसम्मको परीक्षा स्थगित गरेको छ ।
व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षा शास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षाहरू सञ्चालन भइरहेको छ ।
आज र भोलि हुने भनिएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
