सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १३, आईतवार ०९:२३

सोलुखुम्बु । सोलुखुम्बुमको दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका ७ महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन् ।

स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो ।

सोही पहिरोमा परेर ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छन् । उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैगरी, पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको छ । चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको मृत्यु भएको प्रहरीले जनाएको छ ।