उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जनालाई खोलाले बगायो
काठमाडौँ । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जनालाई खोलाले बगाएको छ । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना नख्खु खोलाको बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।
प्रत्यक्षदर्शीहरुका अनुसार करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए । सो स्थानमा प्रहरी आउन झण्डै ४५ मिनेटजति लागेको थियो ।
राजधानीको मन्त्री निवास नजिकै रहेको सो क्षेत्रबाट उद्दारकर्ताको प्रतीक्षामा रहेका नागरिकहरुलाई बगाएको भन्दै सामाजिक सञ्जालमा अहिले सरकारको आलोचना भइरहेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको उनले बताए । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन् ।
