आज ४५ औँ विश्व पर्यटन दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ आश्विन ११, शुक्रबार ०९:३०

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी पर्यटन दिवस मनाइने भएको हो ।

दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेको जनाइएको छ ।

उक्त दिवस मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘पर्यटन र शान्ति’ भन्ने नाराका सो दिवसको अवसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको ।

सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको हो ।