ज्योति सामुदायिक वनद्वारा २ करोडको अनुमानित आयव्यय प्रस्तुत

तु खबर संवाददाता
२०८१ आश्विन ५, शनिबार १८:१६

हेटौंडा । हेटौंडा १८ हर्नामाडी ठूलोदमारस्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहको ३१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ५३ हजारको अनुमानित आयव्यय तथा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय पारित गरेको छ ।

समूहका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष रामबाबु खतिवडाले चालु आ.व.को अनुमानित आयव्यय प्रस्तुत गर्दै गत वर्षझैँ यसवर्ष पनि वन विकास, सामुदायिक विकास र गरिबी न्यूनिकरण लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले समूहको भवन निर्माण गर्न ६० लाखको कोष निर्माण गर्ने पनि बताए । समूहको कार्यकाल ५ वर्षको हुने गरी विधान तथा कार्ययोजना संशोधन गर्ने पनि निर्णण भएको छ ।

उनले वन व्यवस्थापन कार्यक्रममा वन व्यवस्थापन, सम्र्वद्धनका कार्यक्रमहरु, चरिचरणको व्यवस्थापनसहित वृक्षारोपण, वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पोखरी निर्माण, वन सदुपयोगसम्बन्धी कार्यक्रमहरु र उपभोक्ताहरुलाई फलफूलका विरुवा वितरण गरिने जानकारी दिए ।

त्यस्तै सामुदायिक विकास कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई आर्थिक अनुदान, उपचार सहयोग उपलब्ध गराउनुका साथै खेल मैदान स्तरोन्नती , मन्दिर निर्माण, प्रतिक्षालय निर्माण, कुवा मर्मत, पर्यटन, पर्यावरण विकास लगायतका कार्यक्रमहरु गरिने पनि उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी एवं हेटौंडा १८ नम्वर वडा अध्यक्ष अनिल बानियाँले वन समूहको रकम सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिए । समूहले लक्षित वर्गका समूहलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास समेत व्यक्त गरे । साथै हर्नामाडीमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहभन्दा यस ज्योति समूहमा आर्थिक पारदर्शिता रहेकाले यो वन समूह १८ नम्बर वडाकै उत्कृष्ट रहेको भन्दै उनले प्रसंशा गरे ।

कार्यक्रममा हर्नामाडी सव–डिभिजन कार्यालय प्रमुख मदन घिमिरे, समूहका सल्लाहकार संयोजक एवं वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडालगायतले मन्तव्य राखे ।

समूहका सचिव राजकुमार श्रेष्ठले आ.व.२०८०/०८१ को आयव्यय प्रस्तुत गरे ।