ग्रामीण महिला सेवा केन्द्रको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा बुधबार केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास निवर्तमान मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले ग्रामीण महिला सेवामा आवद्ध सबै महिला नेतृत्वको सवालमा सफल रहेको र केन्द्रलाई व्यवस्थित गराउन उनीहरुकै भूमिका महत्वपूर्ण रहने बताइन् ।
उनले संस्थाबाट उत्पादित महिलाहरु करोडौंको कारोबार हुने संस्थाको नेतृत्वमा रहँदा पनि संस्था पर निर्भर हुनुपरेको भन्दै दुःख व्यक्त गरिन् । संस्थाको नेतृत्वले जोगाउन गरेको सबै प्रयास सराहनीय रहेको भन्दै उनले हौसला प्रदान गरिन् ।
कार्यक्रममा बोल्दै केन्द्रकी अध्यक्ष स्याङ्तानले संस्थाको चुनौती सुनाउँदै संस्थालाई जोगाउन स्थानीय तह, गैसस महासंघ र सरकारका अन्य निकायसँग सहयोगको अपेक्षा रहेको बताइन् । उनले निवर्तमान मन्त्री मोक्तान मन्त्री रहँदा सामाजिक विकास मन्त्रालयबाट सहयोग भएको समेत बताइन् ।
हेटौंडा–५ नं. वडाध्यक्ष सुशील घिमिरे र गैर सरकारी महासंघ मकवानपुरका सचिव सन्तोष पौडेलको विशिष्ट आतिथ्यता भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर सदस्य शर्मिला महत, संस्थाकी पुर्व अध्यक्ष तथा सल्लाहकार शर्मिला श्रेष्ठ, संस्थाकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार उर्मीला कार्की, संस्थापक उपाध्यक्ष मेनुका घिमिरे, पुर्व अध्यक्ष तथा भीमफेदी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष पार्वती राना, संस्थापक सदस्य तथा आजिवन सदस्य राधा सिन्तान र लेखा संयोजक मेनुका कुमारी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
