नेपाल जेसीजको स्थापना दिवसमा विविध कार्यक्रम
मकवानपुर । नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा पालुङ जेसीजले असोज १ गते मंगलबार जसीआई मिसनका विषयमा अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियपान कार्यक्रमको आयोजना गरेको हो ।
ती सबै कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।
‘युवाहरुलाई नेतृत्व विकासका अवसरहरु प्रदान गर्ने, जसले युवाहरुलाई सकारात्मक परिवर्तन सृजनागर्न सशक्त बनाउँदछ’ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरु एवम् थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पूर्व अध्यक्ष सहदेब ढकाल, रामप्रसाद ढकाल, सुरेन्द्रमान प्रधान, ओमकर बिष्ट, मनोज रायमाझी, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र लगायत पालुङ जेसीज बर्ष २०२४का पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, मंगलबार नै थाहा नगरपालिका थाना बजारस्थित बुद्ध चोकमा दीप प्रज्जवलन गरिएको पालुङ जेसीज वर्ष २०२४का कोषाध्यक्ष सञ्जय गोपालीले बताए । दीप प्रज्जवलन पश्चात चियापान कार्यक्रमको पनि आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक नारायण कार्कीले बताए ।
६० बर्ष पहिले सन् १९६४ मा डा. भेषबहादुर थापाको अध्यक्षतामा नेपाल जेसीजको स्थापना भएको थियो । नेपाल जेसीज जुनियर चेम्बर इन्टरनेसनल अन्तरगत १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय युवा नागरिकहरू सदस्य रहने स्वेच्छिक सदस्यतामा आधारित एक अन्तराट्रिय गैर नाफामूलक संस्था हो ।
नेपाल जेसीज अन्तरगत १७८ शाखा अन्तरगत करिव १५ हजार युवा सदस्य रहेका छन् । जुनियर चेम्बर इन्टरनेसनल अन्तरगत १२० भन्दा बढी राष्ट्रहरुमा ५ हजारभन्दा बढी शाखाहरु र २ लाखभन्दा बढी सदस्यहरु क्रियाशिल छन् ।
नेपाल जेसीज जुनियर चेम्बर इन्टरनेसनलको सातौं ठूलो सदस्य राष्ट्र हो । युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता क्षमता विकासका लागि क्रियाशिल नेपाल जेसीज नेपालका लगभग सबै जिल्लाहरुमा शाखा स्थापना गरी विविध गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
