संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

तु खबर संवाददाता
२०८१ आश्विन १, मंगलवार १८:०७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा हेटौंडामा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको व्यवस्थापनमा भएको हो । सो अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित बेतखोल्सी सामुदायिक वन समूहको क्षेत्रमा रहेको दिव्य बाल उद्यानमा समी, पलाँस, सीता, अशोकलगायत फूल प्रजातिका बिरुवा रोपिएको हो ।

कार्यक्रम बाष्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्घाटन गरेका हुन् । सो क्रममा उनले वन र वातावरणको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । मुख्यमन्त्री लामाले वनलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको भन्दै बढ्दो वातावरणीय समस्या समाधानका लागि वनको संरक्षण आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल र वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले वनको संरक्षणसँगै उपयोगको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

वृक्षरोपण कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीलगायत सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।