दुप्चेश्वरमा खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वरमा खोलाले बगाएर बेपध तीर्थयात्रीको शव फेला परेको छ ।
दुप्चेश्वरमा महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता हिमकुमारी अधिकारीको शव फेला परेको हो ।
प्रहरीका अनुसार, सोमबार मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाउँपालिका–३ का अधिकारीलाई खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएकी ७२ वर्षीया अधिकारीको शव आज (मंगलबार) फेला परेको हो ।
स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीको टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा अधिकारीको शव फेला पारेको जनाइएको छ ।
अधिकारी मन्दिर दर्शनको लागि परिवारसहित काठमाडौंबाट दुप्चेश्वर पुगेकी थिइन् ।
