ग्यालेक्सी फोर के सञ्चालन गर्ने गोर्खा मिडियाले तिरेन २५ लाख बढी घरभाडा

तु खबर संवाददाता
२०८१ भाद्र ३१, सोमबार १८:३३

काठमाडौँ । ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले १० महिनादेखि घरभाडा नतिरेपछि घरधनीले घर खाली गर्न महानगरमा निवदेन दिएका छन् ।

मृगेन्द्रप्रसाद मिश्रको घरमा गोर्खा मिडियाले १० महिनादेखि घरमाडा नतिरेको फेला परेको हो ।

२५ भदौ २०७७ मा १० वर्षका लागि मासिक २ लाख ५० हजार रुपैयाँ घरभाडा तिर्ने गरी सम्झौता गरिएको भएपनि नेटवर्कले १० महिनादेखि भाडा नतिरेको फेला परेको हो ।

मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले घरधनीसँग भाडा सम्झौता गरेका थिए । पछि सञ्चालक फेरिएर गितेन्द्र बाबु (जीबी) राईले पुनः सम्झौता गरेका थिए ।

राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहितले काठमाडौं महानगर–३ बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर टेलिभिजन सञ्चालनका लागि भाडामा लिएका थिए । टेलिभिजनका तर्फबाट जीबी राई र घरधनी मिश्रले मात्रै हस्ताक्षर गरेका थिए ।

मिश्रका अनुसार पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेले पनि घर भाडाका लागि घरधनी मिश्रसँग कुराकानी गरेका थिए ।

‘उहाँ (रवि) जत्तिको मान्छे प्रबन्ध निर्देशक भएको ठाउँमा विश्वास गरेर घर भाडामा दिइयो, अहिले तनाव भएको छ’, मिश्रले गुनासो गरे ।