हेटौंडाबाट ३१ लाख बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट भन्सार छलिपैठारी गरी ल्याएको अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु पश्चिम बंगाल मदेनिपुर जिल्ला ग्राम तमलुकका ३१ वर्षीय सदाम खान, पश्चिम बंगाल वंकुरा ग्राम रतनपुरका ३८ वर्षीय काली मुडी र पश्चिम बंगाल मदेनिपुर ग्रामका ३० वर्षीय जयदेव हेमराम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, हिजो भदौ ३० गते आइतबार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको डब्लु.बी. ४९ एन २१७८ नम्बरको भारतीय यात्रुबाहक बसलाई उक्त स्थानमा रोकी चेकजाँच गरेको थियो ।
सो क्रममा बसको बिभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली र चोरी पैठारी गरी ल्याईएका करिब ३१ लाख बराबरको अवैध सामान बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले चेकजाँचको क्रममा उक्त बसबाट लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मौज मस्ती ड्रोड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, नोमन लेखेको ग्यास लाईटर ५ थान, हिट लेखेको ग्यास लाईटर २ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, नोमन लेखेको किड १० थान, अरमान लेखेको किड २ थान, नोमन लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान बरामद गरेको प्रहरी नाउव उपरीक्षक भण्डारीले बताए ।
पक्राउ परेकामध्ये सदाम खान र काली मुडी चालक हुन् भने जयदेव हेमराम सहचालक हुन् । बरामद सामान र पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका साथै कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
