जुवाखालबाट गाउँपालिकाका पूर्व अध्यक्षसहित ९ जना पक्राउ
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरास्थित जुवाखालबाट प्रहरीले गएराति ९ जनालाई पक्राउ गरेको छ ।
जुवा खालबाट सोही गाउँपालिकाका पूर्व अध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझीसहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा क्रमशः महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।
शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
साथै प्रहरीले जुवाखालबाट प्रहरीले १८ लाख ५१ हजार ५०० रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद गरेको छ ।
छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको प्रहरीले खोजीकार्य गरिरहेको छ ।
