वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम

तु खबर संवाददाता
२०८१ भाद्र २७, बिहीबार १८:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीबार एक दिवसीय सचेतना तालिमको आयोजना गरिएको छ ।

तालिम इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौंडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा भएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि घलानले वन, वन्यजन्तुका विषयमा बनेका कानुनका बारेमा सबैले जानकारी लिनुपर्ने बताए ।

उनले कतिपय अवस्थामा बनेका कानुनका विषयमा आम जनतालाई थाहा नहुँदा पनि समस्या हुने गरेको बताए । उनले मानव र वन्यजन्तुको द्वन्द्वका कारण हुने घटनामा मानवीय र धनजनको क्षति हुने गरेकोमा चिन्ता व्यक्त गर्दै सबै मिलेर वनजङ्गलको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वातावरणीय अपराध रोकथाम र नियन्त्रणमा स्थानीय समुदायको भूमिका र वातावरणीय अपराध नियन्त्रणका विषयमा प्रशासन सापकोटा र नेपालमा वातावरणीय अपराध तथा तिनको नियन्त्रण एवम् रोकथामका लागि हालसम्म भएका प्रयास र नेपालमा वातावरणीय अपराधलाई नियन्त्रण गर्ने मुख्य कानुनहरूका विषयमा सोल्जर यादवले सहजीकरण गरेका थिए ।

वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौंडा–६ का कोषाध्यक्ष रिपु प्रसाद गौतम लगायतको सहभागिता रहेको कार्यक्रममा स्थानीय ५६ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

संस्थाले यसअघि १० स्थानमा पाँचसय बढीलाई वातावरणीय अपराध रोकथाम सम्बन्धि तालिम प्रदान गरिसकेको छ ।