हेटौंडा–४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।
वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न सूचक पूरा गरेसँगै यही भदौ २८ गते शुक्रबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–४ का वडाध्यक्ष नविद सिग्देलले जानकारी दिए ।
उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष सिग्देलले बताए ।
वडा सदस्य गीता त्रिपाठीले सोही दिन वडालाई बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने जानकारी दिइन् ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।
यसअघि हेटौंडा–२, ७, ८, १७ र १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर ४ हेटौंडा नगरमा छैठौं बालमैत्री वडा घोषणा हुनेछ ।
