नारी संरक्षण केन्द्रको सधारण सभा सम्पन्न
मकवानपुर । नारी संरक्षण केन्द्र हेटौंडाको २४ औं साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रम केन्द्रका अध्यक्ष दिपाकुमारी गुरुङको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले केन्द्रले बाल संरक्षण तथा अभिमुखिकरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् । गैर नाफा मुलक संस्थाको रुपमा सामाजिक काममा लागेका सस्थाहरुका कारण राज्यलाई पनि सहयोग पुग्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा केन्द्रले २०८०–०८१ मा मकवानपुर र धादिङ गरी दुई जिल्लामा गरेका कामको बारेमा जानकारी गराएको थियो । एक वर्ष भित्र गरेका कामको बारेमा संस्थाका कार्यक्रम संयोजक जोरोम घलानले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा २१ जना बालिकालाई संरक्षणमा राखेर अध्ययन गराइरहेको उल्लेख छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत चन्द्रकुमारी व्यन्जनकार, हेटौंडा उपमहानगपालिकाका सामाजिक विकास महशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, माइती नेपालका कार्यक्रम संयोजक माया लामा, अधिकारकर्मी शर्मिला श्रेष्ठ, केन्द्रका उपाध्यक्ष भिष्मराज सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
उक्त संस्था २०५८ सालमा स्थापना भएको थियो । सो संस्थाले स्थापनाकालदेखि नै महिला हिंसाबारे सचेतना, बालगृह संचालन, सिपमुलक तालिम लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।
