खोलाले बगाउँदा मकवानपुरकी बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८, सिम्पानीस्थित खहरे खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १४ वर्षीया रन्जिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार बेलुका ५ बजे स्कुलबाट घर फर्किने क्रममा वर्षाको कारण आएको घर नजिकैको खहरे भेलले बगाउँदा उनको मृत्यु भएको हो ।
मृतक रन्जिता स्थानीय जितेन्द्र गुरुङकी छोरी हुन् । उनी युनाइटेड बोडिङ स्कुलमा अध्ययनरत् थिइन् ।
उनको शव खोलाले बगाएर करिब २ किलो मिटर तलबाट निकालिएको हो । मृतक रन्जिताको शव पोष्टमार्टको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
त्यस्तै, उक्त खोलामा आएको खहरे खोलाले बगाउँदा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय १७ वर्षीय इसान गुरुङ रहेका छन् ।
इसान महेन्द्र किरण माविमा अध्ययनरत छात्र हुन् । इसानको उद्दार गरि मनहरी अस्पतालमा उपचारको लागि लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
