बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु
रौतहट । जिल्लाको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी महिलाको मृत्युपश्चात् यहाँको स्थिति तनावग्रस्त बनेको ।
पीडित परिवारले चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै अस्पताल घेरेका छन् । बर्थिङ सेन्टरमा अहिले ठुलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो ।
सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि आज बिहान बजे वीरगन्जतर्फ रेफर गरेकोमा वीरगन्जस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगन्ज लैजाने क्रममा उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरूले स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
