आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी मनाइँदै

तु खबर संवाददाता
२०८१ भाद्र १७, सोमबार ०८:४७

मकवानपुर । आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंंसी पर्व मनाइँदैछ । जन्म दिने बाबुलाई देवता समान धार्मिक मान्यताका आधारमा आज छोरा–छोरीले बाबुलाई विशेष सम्मान गर्छन् ।

आजको दिन आफ्ना बाबुप्रति आदर सम्मानका साथ फलफुल लगायत मीठो–मीठो खानेकुरा तथा राम्रो लगाउन दिने प्रचलन छ ।

पिता गुमाएकाहरूले भने पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ सिदा दान गर्ने र श्राद्ध गर्ने परम्परा छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

हरेका वर्ष भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर–घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त हुन्छ भन्ने विश्वास छ ।