हेटौंडा खानेपानी बोर्डद्वारा दैनिक साढे तीन करोड लिटर पानी वितरण
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले २७ हजार वटा धारामार्फत् दैनिक साढे तीन करोड लिटर पानी वितरण गरिरहेको जानकारी दिएको छ ।
बोर्डले मंगलबार आर्थिक वर्ष २०८०–०८१ को प्रगती विवरण तथा आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
अहिले बोर्डबाट मासिक रुपमा एक करोड १६ लाख रुपैयाँको मासिक बिलिङ हुने गरेको बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
हेटौंडामा रहेका खानेपानीका उपभोक्ता समितिहरुलाई पनि बोर्डमा ल्याउने र उनीहरुलाई पानी वितरणमा सहज बनाउँदै लगिएको बोर्डका अध्यक्ष प्रताब विष्टले जानकारी दिए ।
समबेल, डिपबोरिङ र गाभिएका उपभोक्ता समितिबाट १ करोड लिटर खानेपानी थप भएको अध्यक्ष विष्टले बताए ।
सामरी समबेलबाट ६० लाख लिटर, मैदा टोलको समबेलबाट १५ लाख लिटर, लामसुरे डिपबोरिङबाट १२ लाख लिटर र उपभोक्ता समिति हस्तान्तरण भई थपिएको खानेपानी १४ लाख १७ हजार लिटर गरी एक करोड १ लाख १७ हजार लिटर खानेपानी थपिइएको हो ।
बोर्डले प्रतिदिन ३ करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७ सय २१ धारामार्फत वितरण गर्दै आइरहेको छ । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ ।
हाल हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४ सै घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको उनको भनाई छ । हेटौंडा–२, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भू–भाग, वडा नम्बर १, ३ र १७ को केही भू–भाग र वडा नम्बर १५, १६, १८ र १९ को ७० दशमलव ५ प्रतिशत भू–भागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई ३ करोड ५७ लाख लिटर खानेपानी वितरण गरिरहेको बोर्डले जनाएको छ ।
नगरक्षेत्रको वडा नम्बर ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको छ ।
