मकवानपुरमा स्क्रब टाइफसका ७० जना बिरामी फेला

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १७:३५

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।

गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका ७० जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २६ महिला र १३ पुरुष गरी ३९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिकामा ६ महिला र ३ पुरुष गरी ९ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा एक जना महिला, मनहरी गाउँपालिकामा ३ पुरुष र ३ जना महिला गरी ६ जना स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा एक जना महिला, भीमफेदी गाउँपालिकामा चार जना महिला, बकैया गाउँपालिकामा ३ पुरुष र ४ महिला गरी ७ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका एक जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।