लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार १०:०५

मकवानपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए ।

उनले भने, “लोक र मौलिकता जोगाउनु पर्छ । पहिले गीत सुन्न मेला र पर्वमा जानुपर्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । यसको संरक्षण गर्ने भूमिका हामी सबैको हो ।”

उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

यस्तै, संस्थाका उपाध्यक्ष चन्द्रबहादुर बजगाईले स्वागत मन्तव्य राखेका थिए भने सचिव काजीमान गोले (अमर) ले संगठित प्रतिवेदन र अध्यक्ष रविन्द्र थिङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै साधारणसभाले लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको कानुनी सल्लाहकारमा अधिवक्ता रामशरण लामिछानेलाई मनोनित गरेको छ भने विभिन्न खाली रहेका पदहरूमा समेत नयाँ सदस्यहरू मनोनीत गरिएको छ ।