हेटौंडा–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार ०८:०७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शनिबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष फुर्वा दोर्ज तामाङले जानकारी दिए ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

यसअघि हेटौंडा–८ पहिलो, हेटौंडा–२ दोस्रो, हेटौंडा–७ तेस्रो र हेटौंडा–१७ चौथो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

१९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।