आज हेटौंडा–१० बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

तु खबर संवाददाता
२०८१ भाद्र ८, शनिबार १०:१७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष फुर्वा दोर्ज तामाङले जानकारी दिए ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको उनले बताए ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा गर्न लागिएको अध्यक्ष तामाङले बताए ।

आज स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गनबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिने र त्यसपछि औपचारिक कार्यक्रम हुने वडाध्यक्ष तामाङले बताए ।

बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–१० हेटौंडा नगरमा पाँचौ बालमैत्री वडा घोषणा हुनेछ । यसअघि हेटौंडा–८, हेटौंडा–२, हेटौंडा–७ र हेटौंडा–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।