मकवानपुरका १३७ जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १५:५९
file-photo

मकवानपुर । मकवानपुर जिल्लाका १ सय ३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

उक्त तथ्याङ्क साउन १ गतेदेखि भदौ ७ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ७६ जना महिला र ६१ जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ४२ पुरुष र ५७ महिला गरी ९९ जना, मकवानपुरगढी गाउँपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका एक पुरुष, मनहरी गाउँपालिकाका १० पुरुष र ५ महिला गरी १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बकैया गाउँपालिकाका ३ पुरुष र ३ महिला गरी ६ जना, भीमफेदी गाउँपालिकाका ३ जना महिला, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।