हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस मनाइएको छ ।
तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्श गरी बिहीबार हेटौंडामा तामाङ समुदायले तामाङ पहिचान दिवस मनाएको हो ।
कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा मुख्यमन्त्री लामाले तामाङ समुदायले आफ्नो पहिचान स्थापित गर्न सकेको भन्दै खुसी व्यक्त गरे । कानुन बलियो भएमात्र तामाङ समुदाय स्थापित हुने भएकाले कानुन निर्माण तहमा तामाङ समुदाय पुग्न जरुरी रहेको उनको भनाई छ ।
तामाङ समुदायले केही गर्न सक्दैन र भारी बोक्ने काम मात्र गर्छ भन्ने भ्रमलाई निर्मूल पार्दै अहिले अवस्थासम्म आइपुग्दा तामाङ समुदायले पढेर पनि केही गर्छ भन्ने कुरा स्थापित भएको उनले बताए ।
वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवस रुपमा मनाउने गरिएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लामा, बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेशमा निर्वाचित पदाधिकारी, कलाकार र एसईई परीक्षा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गरिएको थियो ।