बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर १९३ जनाको मृत्यु
काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी मंगलबार दिउँसोसम्म १ सय ९३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका ८ जना, बागमती प्रदेशका ३७ जना, गण्डकी प्रदेशका ५६ जना, लुम्बिनी प्रदेशका ३७ जना, कर्णाली प्रदेशका १३ जना र सुदूरपश्चिम प्रदेशका १५ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सो अवधिमा विपद्को घटनामा परी २ सय ४१ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कोशी प्रदेशका ३८ जना, मधेश प्रदेशका १२ जना, बागमती प्रदेशका ३५ जना, गण्डकी प्रदेशका ४७ जना, लुम्बिनी प्रदेशका १८ जना, कर्णाली प्रदेशका ५७ जना र सुदूरपश्चिम प्रदेशका ३४ जना रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरुलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
साथै सो अवधिमा विपद्को घटनामा परेर विभिन्न प्रदेशका ४९ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।
